विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुलाई हरायो, ब्राजिल रोकियो
काठमाडौँ । अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोट फुटबल अन्तर्गतको खेलमा पेरुलाई हराएको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । मार्टिनेजले सो गोल कप्तान लियोनल मेस्सीको असिस्टमा गरेका थिए । यो जितपछि विश्वकप छनोटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र शीर्ष स्थानमा कायम रहेको छ ।
त्यस्तै पेरुको भने १२ खेलमा केवल ७ अंक रहेको छ र अंकतालिकामा पुछारमा रहेको छ । आज भएका अन्य खेलमा ब्रजिल उरुग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । चिलीले भेनेजुएलालाई ४–२ ले हराएको छ भने इक्वेडरले कोलम्बियालाई १–० ले हराएको छ । त्यस्तै पाराग्वे र बोलिभियाले २–२ को बराबरी खेलेका छन् ।
अंक तालिकामा उरुग्वे २० अंकसहित दोस्रो स्थानमा रहेको छ भने इक्वेडर र कोलम्बियाको समान १९ अंक छ । पाँचौँ अंकको ब्रजिलको १८ अंक हुँदा पाराग्वेको १७ अंक छ । बोलिभियाको १३, भेनेजुएलाको १२ तथा चिलीको ९ अंक छ ।