बेरुतमा इजरायली हमला, हिजबुल्लाहका प्रवक्ताको मृत्यु


२०८१ मङ्सिर ३ सोमबार १४:२१ बजे

काठमाडौं । मध्य बेरुतस्थित सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार भएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।

‘रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ’, सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो । बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह मिडिया अधिकारी अफिफको मृत्यु भएको पुष्टि गरेका’ आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ।

इजरायली सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उल्लेख गर्दै आक्रमण स्थलबाट भग्नावशेष हटाउने काम जारी रहेको बताएको छ ।

अफिफले वर्षौंदेखि हिजबुल्लाहको मिडिया सम्बन्धको जिम्मेवारी सम्हालेका थिए र अज्ञातताको आडमा स्थानीय र विदेशी पत्रकारहरूलाई जानकारी प्रदान गर्दै आएका थिए । फ्रान्सेली दूतावास र विश्वविद्यालय नजिकैको रास अल–नबामा ‘भग्नावशेषमुनि फसेका’ मानिसहरूको संख्या यकिन नरहेको रिपोर्ट गर्दै एनएनएले सत्रुको विमानले गरेको आक्रमणले ‘ठूलो विनाश’ गरेको जनाएको छ ।

एनएनएले भनेको छ, ’छिमेकी भवनका एक बासिन्दाले खाली गर्न चेतावनी कल पाएका थिए तर त्यसलाई गम्भीरतापूर्वक लिइएन ।’ सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको इजरायली हमलामा मृत्यु भएपछि अफिफले बेरुतको दक्षिणी उपनगरहरूमा धेरै पत्रकार सम्मेलनहरू गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७