दार्चुलामा जीप दुर्घटना : सातको मृत्यु, ६ जना घाइते
दार्चुला । दार्चुलाको मालिकार्जुनमा आज (शुक्रबार) बिहान जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।
मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप शुक्रबार बिहान करिब ४ बजे शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थल सदरमुकाम खलंगाबाट झण्डै ४० किलोमिटर टाढा पर्छ ।
अहिले पनि मृतकको शव घटनास्थलमै छ । अहिलेसम्म मृतक कसैको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई स्थानीय प्रहरीको सहयोगमा उपचारका लागि गोकुले अस्पताल पठाइएको छ । दुर्घटनास्थलमा दार्चुलाका डीएसपीको नेतृत्वमा प्रहरी टोली गइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन। घटनाको सम्पूर्ण विवरण आइसकेको छैन ।