रास्वपा सभापति लामिछानेलाई आज पोखरा फर्काइँदै


२०८१ कार्तिक ३० शुक्रबार ११:३५ बजे

काठकाठमाडौं । रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज (शुक्रबार) कास्की पोखरा फर्काइने भएको छ ।  सहकारी ठगी र संगठित अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज रुपन्देहीबाट पोखरा पठाउन लागिएको हो । 

मंगलबार बयानका लागि कास्कीबाट रूपन्देही  पुर्‍याइएका रविलाई बयान सकिएसँगै शुक्रबार कास्की नै फिर्ता गर्न लागिएको हो । लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी डिएसपी लक्ष्मी खनालले जानकारी दिइन् । बिहान ७ः४० फ्लाइट रहे पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम सफा नभएका कारण ढिलाइ भएको उनले बताएकी छन् ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको  बचत हिनामिनाबारे अनुसन्धानका लागि लामिछानेलाई भैरहवा लगिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा तीन दिन गरी झण्डै साढे २३ घण्टा बयान लिइएको थियो । मंगलबार ५ घण्टा, बुधबार झण्डै ८ घण्टा र बिहीबार झण्डै १० घण्टाको बयानमा लामिछानेलाई ७४ वटा प्रश्न सोधिएको थियो ।

लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले बयान लिएका थिए । लामिछानेसँग तीन दिनसम्म गोर्खा मिडिया र सहकारीको रकम हिनामिनासँग सम्बन्धित ७४ वटा प्रश्न सोधिएको प्रहरीले जनाएको छ । अधिकांश प्रश्नमा लामिछानेले आफूलाई कुनै पनि जानकारी नभएको जबाफ दिएको बयानमा संलग्न अनुसन्धान अधिकृतले जानकारी दिएका छन् । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको भन्दै बयानका लागि रूपन्देही ल्याइएको हो । सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहामा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७७ चैत १८ गते लामिछानेका नाममा २ करोड ऋण लिइएको अनुसन्धानबाट खुलेको छ । त्यसमध्ये ४ लाख सेवाशुल्क कटाएर १ करोड ९६ लाख रूपैयाँ लामिछानेको नामबाट गोर्खा मिडिया नेटवर्कमा जम्मा गरिएको छ । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला रोशनी गुरूङका नामबाट ग्लोबल आइएमई बैंकमा उक्त रकम जम्मा भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलले तयार गरेको पूरक अनुसन्धान प्रतिवेदनअनुसार लामिछानेका नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका थिए । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय केसी अहिले फरार छन् । रकम जम्मा गर्ने रोशनी यसअघि नै पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भइसकेकी छन् । सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङ भने पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन्।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रूपैयाँमध्ये झण्डै ७८ करोड सुप्रिम सहकारीबाट गैरकानुनी रूपमा विभिन्न संघ–संस्थामा लगेर खर्च गरेको पाइएको छ । संस्थाका पूर्व अध्यक्ष तथा अहिलेका संरक्षक गितेन्द्रबाबु (जिबी) राई, तत्कालीन सचिव दीपेश पुन, व्यवस्थापक सागर केसीसहित ३२ जनाभन्दा बढी व्यक्तिले अनधिकृत रूपमा रकम लगेर खर्च गरेको अनुसन्धानबाट खुलेको छ।

सुप्रिम सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाका सम्बन्धमा अनुसन्धानका लागि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रूपन्देहीले गत कात्तिक ८ गते अनुमति दिएको थियो । यसअघि पनि बुटवलबाटै मुद्दाको अनुसन्धान भइरहेको र संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा लामिछाने र गोर्खा मिडियाका उपाध्यक्षसमेत रहेका पूर्व डिआइजी छविलाल जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलले अदालतसँग अनुमति मागेको थियो ।

जोशीलाई यसअघि नै रूपन्देही ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइसकिएको छ । सहकारी ठगी प्रकरणमा गत असोज ६ गते पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।प्रहरीले यसअघि गरेको छानबिनमा जोशीसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई र सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो ।

तीमध्ये सहकारीका अध्यक्ष गुरूङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । सहकारीका पूर्वअध्यक्ष तथा संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन् । कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले पछिल्लोपटक गत आइतबार १३ दिनको म्याद थप गरिदिएको थियो । अदालतबाट १३ दिनको म्याद थप गरी कास्की प्रहरीले बयानका लागि रूपन्देही पठाएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७