रवि लामिछानेको बयान चल्दै, भैरहवामा सहकारीपीडिको प्रदर्शन

भैरहवा । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा पुराइएको हो । लामिछानेलाई भैरहवा ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
भैरहवा विमानस्थलबाट लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ। रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको प्रदर्शनका कारण उनलाई कडा सुरक्षाबीच सरकारी वकिल पुर्याइएको हो । भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको निरन्तर प्रदर्शनले सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिँदै स्थानीय प्रशासनले निषेधाज्ञा घोषणाको तयारी गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको कार्यकक्षमा उनको बयान जारी छ । लामिछानेको बयान चलिरहँदा सदरमुकाम भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालय नजिकै पीडितले प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग गरेका हुन् ।
सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले ‘सहकारीपीडितलाई न्याय दे’, ’सहकारी ठग्न पाइँदैन’, ‘सहकारी ठगीको निष्पक्ष छानबीन गर’ लगायत नारा लगाएका थिए । प्रदर्शनमा ५० भन्दा धेरै पीडित सहभागी भएका थिए ।
सहकारीपीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाए । सहकारी पीडित संघर्ष समिति संयोजक विजय नेपालले पीडितहरूको आन्दोलन जारी रहेको बताए । उनले राज्यले जो दोषी भएपनि कारबाही गर्नुपर्ने बताए । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।