रत्नपार्क–भद्रकाली क्षेत्रमा बढाइयो सुरक्षा, यातायात आवागमन प्रभावित


२०८२ जेठ १५ बिहीबार १६:२६ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर आज (बिहीबार) बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ बनाइएको छ । उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।

भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपालगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ । प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ । एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो । एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरू गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले प्रदर्शनलाई मुठभेडमा परिणत हुने नदिने र निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । 

त्यसअघि आजै बिहान सैनिक मञ्च, टुँडिखेलमा गणतन्त्र दिवसको कार्यक्रम भइरहेको छ । आजका विभिन्न कार्यक्रमका कारण बिहानैदेखि काठमाडौं उपत्यकाका केही ठाउँको ट्राफिक आवागमन प्रभावित भएको छ ।  राप्रपाले २ बजेपछि गर्ने भनिएको रत्नपार्क केन्द्रित प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई शान्तिबाटिकाबाट अगाडि बढ्न नदिने सुरक्षा नीति छ।

त्यसको व्यवस्थापन जिल्ला प्रहरी परिसर, काठमाडौंले गर्ने भएको छ । गणतन्त्र दिवस लक्षित विभिन्न कार्यक्रमका कारण आज बिहान १० बजेदेखि सैनिक मञ्च, टुँडिखेल वरिपरिको सडकमा ट्राफिक डाइभर्सन गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा १० बजेदेखि आयोजना गर्ने कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल पुगे लगत्तै सुरु हुने विभिन्न झाँकी तथा सांस्कृतिक प्रदर्शनका कारण मूल सडकको सवारी आवागमन बन्द बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७