सभापति लामिछानेलाई भेटेपछि स्वर्णिमले भने–रास्वपाप्रति सहानुभूति बढेको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले राजनीतिक प्रतिशोध साँध्नका निम्ति सभापति रवि लामिछानेलाई हिरासतमा राखिरहेको दावी गरेका छन् । ठोस प्रमाण नहुँदा नहुँदै, भागेर जाने अवस्था र थप अपराध गर्ने अवस्था नहुँदा पनि लामिछानेलाई म्याद थप गरी हिरासतमा राखिरहनु औचित्यपूर्ण नभएको उनले जिकिर गरे ।
उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी), वाग्ले तथा कार्यवाहक प्रवक्ता मनिष झा सोमबार कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने भेट्न पुगेका थिए । ‘न प्रमाण नष्ट गर्ने आधार छ । न भागेर जाने आधार छ । न थप अपराध गर्ने आधार छ । हिजो हेर्नुस् त १३–१३ दिन, मानिसहरूलाई अति नै भयो भन्ने बुझाइ छ । राजनीतिकरूपले भन्नु हुन्छ भने रविजीप्रति, राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सहानुभूति झन् बढेको छ । नैतिक हैसियत नभएका पात्रहरूले सानो छिद्रमा टेकेर कानुनी प्रावधानहरूको दुरूपयोग गरिरहेको छन् । राजनीतिक दुरूपयोग गरिरहेका छन् । हामीले जनतामा गएर बुझाउन पाइरहेका छौं,’ उनले भने ।
उनले रास्वपाले बुधबार पत्रकार सम्मेलन गरेर आमागी कार्यक्रम र कार्यदिशाबारे जानकारी दिने बताएका छन् । ‘आन्दोलन जारी छ, आगामी आन्दोलनको स्वरूपबारे पत्रकार सम्मेलन गरेर थप व्याख्या गर्नेछौं । अभियानलाईलाई अझ विस्तृतीकरण र व्यापकीकरण गर्ने नै छौं ।’ गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए । सहकारी ठगी र संगठित अपराध कसुरमा लामिछाने पक्राउ परेका हुन् । सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपाले सडक आन्दोलन गरिरहेको छ ।