पूर्व मुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज
काठमाडौं । स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएकी पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज भएकी छन् । उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार अपराह्न उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह डिस्चार्ज हुनुअघि नर्भिक पुगेका थिए ।
पूर्वराजा शाहले आफै गाडी चलाएका थिए । अस्पतालमा पूर्व युवराज पारस शाह पनि उपस्थित थिए । अस्पतालले डिस्चार्ज गरेपछि उनीहरु सबै एउटै गाडीमा अस्पतालबाट गएका थिए । ९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएपछि अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सामान्य बनेको अस्पतालले जनाएको छ । राजा महेन्द्रकी श्रीमती रत्न २०११ देखि २०२८ सालसम्म नेपाल अधिराज्यकी रानी थिइन् ।
२००७ सालमा इन्द्र राज्यलक्ष्मीको निधन भएपछि महेन्द्रले उनकै बहिनी रत्नसँग दुई वर्षपछि विवाह गरेका थिए । सो बेला महेन्द्र युवराज नै थिए । २०६५ सालमा नेपाल गणतन्त्र घोषणा भएपछि पूर्वराजा ज्ञानेन्द्र सपरिवार नागार्जुन बसाइँ सर्दा रत्नले भने नारायणहिटी राजदरबारभित्रको महेन्द्र मञ्जिल छोड्न अस्वीकार गरेकी थिइन् । अहिले पनि उनी महेन्द्र मञ्जिलमै बस्छिन् ।