यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालको विजयी शुरुवात
काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा नेपालले बुधबार जितबाट सुखद सुरुवात गरेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको छ । नेपालले टस हारी पहिला ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १०२ रन बनाएको थियो ।
थाइ टिमलाई ३५ रनमा अलआउट गर्दै नेपालले शानदार जित हात पारेको हो । नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदा अलआउट भयो । थाइल्याण्डकी कप्तान अफिसाराले सबैभन्दा धेरै १३ रन बनाइन् । नेपालकी रचना चौधरीले ४ विकेट लिइन् । यस्तै कप्तान पूजा महतो र रिया शर्माले समान २ तथा मनिशा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।
यसअघि यूएईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनायो । नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै ३५ रन बनाइन् । यस्तै सीमना केसी र सोनी पाख्रिनले समान १९ रन बनाए। थाइल्याण्डकी चरुकन सेमाले २ विकेट लिइन् ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्याण्ड, यूएई र कुवेत छन् । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग, आउँदो शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्याण्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।