सांसद दीपक मनाङेले कति समय बस्नु पर्छ कैद ?


१२:५० बजे

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आज गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो ।सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो । 

ज्यान मार्ने मनसायले आक्रमण गरिएको उल्लेख गरेर मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो । उक्त अदालतले सामान्य कुटपिट मात्रै भएको उल्लेख गर्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।जिल्ला अदालतको फैसलाविरुद्ध उक्त मुद्दा तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको थियो । उक्त अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्षको जेल सजाय ठहर गर्‍यो । तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।

सर्वोच्चले गुण्डा नाइकेका रुपमा परिचित गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई पाँच वर्ष कैद गर्ने उच्च अदालतको फैसला सदर गरे पनि उनले २८ महिनामात्रै कैद भुक्तान गर्नुपर्ने भएको छ । मनाङेका तर्फबाट उक्त मुद्दामा बहस गरेका कानून व्यवसायी दीपकमणि निरौलाका अनुसार उनले यसअघि एक पटक दुई वर्ष र अर्को पटक आठ महिना गरी ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।

मनाङेको मुख्य योजनामा २०६१ वैशाख ३१ गते महाराजगञ्ज, पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्टमा अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । उक्त घटनामा उनी पहिलो पटक २०६२ सालमा ठमेलबाट पकाउ परेका थिए ।

त्यसबेला गुरुङ पत्नी इन्दिराले कुटपिटको महलमा दिएको जाहेरीले मनाङेसहित गणेश लामा, सञ्जय डङ्गोल, तीर्थ लामासहितलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये मनाङेलाई तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो। उनले डिल्लीबजारस्थित अनाश्रित गुल्म चारखालमा दुई वर्ष कैद भुक्तान गरेपछि तत्कालीन पुनरावेदन अदालतले धरौटीमा रिहा गरेको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७