झ्याप्ले खोलामा अर्को पनि बस पुरिएको भेटियो


२०८१ असोज १३ आइतबार १२:०८ बजे

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा भेटिएको छ । आज (आइतबार) बिहान थप एउटा बस पुरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए ।

‘बसको थोरै भाग मात्र देखिएको छ । बसको नम्बर खुलेको छैन । डोजर लगाएर पहिरो पन्छाउने तयारी हुँदैछ’ उनले भने । त्यहाँ अरू पनि गाडीहरू पुरिएको हुनसक्ने उनले बताए । ‘गाडीहरूको लाइन हुने ठाउँ हो । पहिरो जाँदा कति गाडी थिए । थप खोजी हुँदैछ’, सिलवालले भने ।  

यता गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ । ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं जानका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको कम्पनीका अध्यक्ष नारन खत्रीले जानकारी दिए ।

‘लापुबेसीबाट बिहान ११ बजे बिहान छुटेको थियो । बसमा दुई–तीन जना मात्रै यात्रु भएको बुझेका छौं । बसमा गुरूङ र तिवारी थरका चालक र सहचालक हुनुहुन्थ्यो । उहाँहरूले जाम छ भनेर बताइरहनु भएको थियो । धादिङको धुनीबेसी नगरपालिकास्थित खानीखोला पुगेपछि सम्पर्कविहीन भएको छ,’ उनले भने । यात्रुका आफन्तले पनि सम्पर्कमा नआएको भन्दै फोन गरिरहेको खत्रीले जानकारी दिए । हराएको बस झ्याप्ले खोलामा पुरिएको बस हुन सक्ने आशंका गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७