धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि सुरु, तीन जनालाई अन्तर्वातामा बोलाइयो


२०८१ असोज १० बिहीबार ०३:५५ बजे

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता हुने भएको छ । अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरूमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता असोज १८ गते हुने जानकारी दिएको हो ।

कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाई र डा. नवराज अधिकारीको नाम संक्षिप्त सूचीमा समावेश गर्दै उनीहरुको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते बिहान ८ बजे हुने जानकारी समितिले दिएको छ । यसअघि सर्टलिस्टमा परे पनि अन्तर्वार्ता तथा कार्य प्रस्तुतीमा यी तीन उम्मेदवार सहभागी नभएपछि  समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

त्यसपछि सरकारले नियुक्तिका लागि नयाँ प्रक्रिया सुरु गर्ने तयारी गरेको थियो । तर सर्टलिस्टमै परेका पाँचमध्येका एक उम्मेदवार सन्तोषनारायण श्रेष्ठले अध्यक्ष नियुक्तिको नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरे  । गत असार २१ मा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले नयाँ नियुक्ति प्रक्रिया नथाल्न भनिएको अन्तरिम आदेशलाई निरन्तरता दियो ।

त्यस्तै मुद्दाको पूर्ण सुनुवाइका लागि अग्राधिकार दिई नियमानुसार पेस गर्न भनियो । धितोपत्र बोर्डको अध्यक्ष जस्तो महत्त्वपूर्ण पद लामो समयसम्म खाली राख्न नहुने भन्दै सर्वोच्च बेन्चले अग्राधिकार दिएर पेसी तोक्न भनेको थियो । तर, पेसी भने ३० माघका लागि तोकियो । तर पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न भने सर्वोच्चले बाटो खुला राखेपछि सरकारले पुनः प्रक्रिया अघि बढाएको हो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७