दशकपछि बल्ल सुस्तामा झोलुङ्गे पुल, उदघाटनमा ‘भीआइपीको डफ्फा’

सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट


२०८१ असोज १० बिहीबार ०६:०० बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल तथा एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ कार्यक्रममा ऊर्जामन्त्री खड्काले विद्युत् जडान भएका सुस्ता पश्चिमका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणबाट विस्तारित राष्ट्रिय प्रसारण प्रणाली र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्मित सौर्य मिनीग्रिड प्रणालीलाई आबद्धगरी एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्ति शुभारम्भ गरिएको थियो । सोही कार्यक्रममा ऊर्जामन्त्री खड्काले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण भएर पनि लामो समयदेखि भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपयोगबाट वञ्चित रहेको सुस्ता क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तार सम्पन्न हुनुले सरकारले राखेको शतप्रतिशत विद्युतीकरणको लक्ष्यलाई सहयोग पुग्ने बताए । उक्त शुभारम्भसँगै नवलपरासी जिल्ला पूर्ण रुपमा विद्युतीकरण भएको छ ।

सुस्ता क्षेत्रमा लामो समयदेखि साना सौर्य ऊर्जा प्रणालीबाट सीमितमात्रामा विद्युत् सेवा उपलब्ध थियो । तीन सय ५० भन्दाबढी घरपरिवारले सौर्य ऊर्जाको प्रयोगबाट आफ्नो आवश्यकता पूरा गर्दै आएका थिए । सुस्तामा गण्डक सबस्टेशनबाट पाँच किलोमिटर प्रसारण लाइन विस्तार गरी झोलुङ्गे पुल पार गर्दै नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडमा जोडिएको छ । मन्त्री खड्काले उक्त कार्यसँगै सुस्ता क्षेत्रका बासिन्दालाई गुणस्तरीय र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउन सहयोग पुग्नुका साथै यहाँको औद्योगिक, पर्यटन, र आर्थिक गतिविधिमा व्यापक सुधार ल्याउने विश्वास व्यक्त गरे ।

‘हामीले एक सय किलोवाट क्षमताको सौर्य मिनीग्रिड प्रणालीलाई पनि राष्ट्रिय ग्रिडमा सफलतापूर्वक जोडेका छौँ, सुस्ता गाउँपालिका–५ मा निर्माण भएको यो परियोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ‘तराई मधेस समृद्धि कार्यक्रम’ र सुस्ता गाउँपालिकाको सहयोगमा विसं २०७७  मंसिरदेखि सञ्चालनमा ल्याएका थियौँ’, उनले भने ।  उक्त परियोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोडिदिँदा यसको दीर्घकालीन दिगोपन सुनिश्चित भएको मन्त्री खड्काको भनाइ छ । उनले देशभर रहेका साना सौर्य ऊर्जा प्रणाली तथा लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सरकार योजनाबद्ध ढङ्गले लागेको बताए । राष्ट्रिय ग्रिडले नेपालको हरेक कुनासम्म सेवा पुर्‍याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ थियो ।  

ऊर्जामन्त्री खड्काले सुस्तालाई राष्ट्रिय ग्रिडमा जोड्नु विद्युत् पुर्‍याउनु मात्र नभई विकास, समृद्धि र अवसरको उज्यालो बाटो तर्फ अग्रसर भएको बताए । सोही अवसरमा मन्त्री खड्काले नारायणी नदीमा तटबन्धको काम तत्काल सुरु गरिने बताए । सहरी विकास मन्त्रालयबाट निर्माण गरिएको उक्त कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नदी तरितराउको अभावमा वर्षौंदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाको भरपरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट पुल बनेसँगै उक्त समस्याको समाधान भएको बताए ।

भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन भएको छ ।
निर्माण सुरु भएको नाै‌ वर्षपछि सुस्ता पुल बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । ठेकेदार कम्पनीको लापरबाहीले बारम्बार अलपत्र छाडिँदै आएको झोलुङ्गे पुल (सस्पेन्सन ब्रिज) निर्माण भएको झण्डै एक दशकपछि सुस्तावासीले प्रयोग गर्न पाएका हुन् ।

असोज २०७२ मा निर्माण सुरु भएको यो पुल पुस २०७५ मा निर्माण सकिनुपर्ने थियो । ठेकेदार कम्पनीले बारम्बार अलपत्र छाड्दा समयमै काम पूरा भएको थिएन । त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले २३ करोड बढी लागतमा ठेक्का लिएर पुल निर्माण गरेको हो । सुस्तावासीले एक दशक आश गरेर बल्ल उपयोग गर्न पाएको पुल उद्घाटनमा  ‘भीभीआईपी’ र ‘भीआईपी’ को भने लर्को नै लागेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का,  लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमन्त्रीहरू, लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्रतिनिधि र प्रदेश सभा सांसदहरू, मन्त्रालयका सचिवहरू लगायतको ठूलो डफ्फा  सुस्ता पुगेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७