ढोरपाटनमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र बन्दै


२०८१ असोज १० बिहीबार ०३:५४ बजे

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडक समेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो । 

ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत यहाँ भ्रमण तथा अवलोकनमा आउने गरेका छन् । यसैलाई लक्षित गरी पर्यटन विभागले चालु आर्थिक वर्षमा सूचना केन्द्र निर्माण गर्न लागेको जनाइएको छ । 

ढोरपाटन नगरपालिका उप्रमुख धनबहादुर कायतले पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गएपछि पर्यटन विभागले यहाँ पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको जानकारी दिए । नगरपालिकाको वडा नं ९ स्थित पाखाथरमा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको उनले बताए ।  कायातकानुसार पहिलो चरणमा रु चार करोड लागतमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसँग सम्झौता भएको छ । पूर्वाधार निर्माणसँगै पार्क, सङ्ग्रहालय तथा पर्यटकका लागि आवश्यक पर्ने अन्य जानकारी दिन उक्त केन्द्रले निर्माण गर्न लागिएको हो ।

‘ढोरपाटनमा पछिल्लो समय १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन्, जसमध्ये पर्याप्त सूचना र पूर्वाधारको अभावमा पर्यटक अलमल भएको हामीले महसुस गरेका थियौं’, उपप्रमुख कायतले, ‘पर्यटन विभागसँग गरिएको समन्वयले यहाँ सुविधासम्पन्न पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचना केन्द्रसँगै व्यवस्थित पार्क बनाइनेछ, सङ्ग्रहालय समेत बनाइनेछ ।’ चालु आर्थिक वर्षमा रु चार करोड लागतमा उक्त पर्यटकीय पूर्वाधार केन्द्र निर्माण गरिने छ । पर्यटकीय पूर्वाधारसहित सूचना केन्द्र्र निर्माणका लागि जग्गाको व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगरपालिकाले बनाएको थियो । 

यस कार्यमा सङ्घीय सांसद् देविप्रकाश भट्टचनले यहाँ भित्रिएका पर्यटकलाई धेरैभन्दा धेरै ठाउँमा पुर्‍याउन, यहाँको पहिचान, कला तथा संस्कृतिको विषयमा आवश्यक जानकारी दिन नगरपालिकाको मागअनुसार सूचना केन्द्र निर्माण योजना अगाडि बढेको बताए । नेपालकै एक मात्र सिकार आरक्ष भएकाले महङ्गो शुल्क तिरेर नाउर र झारलको सिकार गर्न यहाँ पर्यटक आउने गरेकाले उनीहरूको सहजताका लागि सूचना केन्द्र उपयोगी हुने उनले विश्वास व्यक्त गरे । 

ढोरपाटनमा आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका र त्यसबाट रु १९ लाख राजश्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले जानकारी दिए । उनले पर्यटकलाई ढोरपाटन प्रवेशद्वार देउरालीमा केही जानकारी दिने गरिए पनि सूचना केन्द्र स्थापना भएमा थप प्रभावकारी हुने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७