केराबारीको त्रिशुली बीचमा देखियो रातो बस्तु, बेपत्ता बस भएको आशंका पुग्यो उद्धार टोली

बस खोज्न भारतीय उद्धार टोलीले ल्याएको चुम्बक नै हरायो


२०८१ श्रावण १२ शनिबार १०:४२ बजे
फाइल फोटो

काठमाडौं । चितवनको केराबारीमा त्रिशुलीमा हराइरहेको बस फेला परेको आशंका गरिएको छ । स्थानीयले रातो रङ्गको बस्तु देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र प्रहरीको टोली मुग्लिनबाट सो ठाउँमा पुग्दै गरेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले स्थानीयले बस जस्तो वस्तु नदी बीचमा देखेर प्रहरीलाई खबर गरेकाले त्यतातर्फ प्रहरी टोली पठाइएको जानकारी दिए  । ‘नदी बीचमा रातो रंगको केही वस्तु देखिएको भनेर हामीलाई खबर आएको छ’, उनले सुनाए, ‘बस नै हो भन्न सक्ने अवस्था छैन । प्रहरी टोली त्यसतर्फ जाँदैछ । राति हुँदै गएकाले पानीमा जान सम्भव हुने नहुने भन्न सकिँदैन ।’ सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला पर्न सकेको छैन । भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको छ । 

भारतीय टोलीले शनिबार दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो । असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । आज दिनभर भारतीय उद्धार टोलीसहितको सुरक्षाकर्मीले त्यही आसपासका क्षेत्रमा चुम्बक प्रयोग गरी बसको खोजी गरेका थिए । दुईटा गरी ४० किलोको चुम्बक प्रयोग गरिए पनि केही प्रगति भएन । केही बेरअघि मात्रै खोजी कार्य स्थगित गरिएको थियो । बसमा रहेका ६२ यात्रुमध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।   


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७