पाँच लाख ऋणको आडमा बलात्कार र घर जग्गा कब्जा : मालीलाई १० वर्ष कैद र जरिवाना


२०८१ असार ३ सोमबार ०६:३५ बजे

काठमाडौँ । जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय तोकेको छ । ललितपुरकी एक महिलालाई पाँच लाख ऋण दिएको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा गर्ने मालीलाई दोषी ठहर गर्दै आइतबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको एकल इजलासले सो सजाय तोकेको हो ।

मालीले पीडित महिलालाई पाँच लाख रुपैया क्षतिपूर्ति भराउनु पर्ने आदेश गरेको छ । महिलालाई यौन शोषण गर्न सघाउने उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने आदेश गरेको छ । पीडित महिलाले मदिराको कुलतमा फसेका श्रीमानको उपचार गर्न आफन्त पर्ने मालीबाट ०७५ सालमा पाँच लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

उक्त ऋणको महिनाको ब्याज ५० हजार थियो । आयस्रोत नभएकी ऋणी महिलाले ऋणसापट गरेर मासिक ५० हजार रुपैयाँका दरले दुई पटक ब्याज तिरिन् । यसपछि ऋणको ब्याज घटाइदिने भन्दै मालीले उनीमाथि पटक–पटक आफूले मात्रै बलात्कार गरेनन्, अरुलाई पनि यौन शोषण गर्न लगाए । बरु बलात्कारको विषय सार्वजानिक गरिदिने भन्दै ५५ लाख रुपैयाँको (मिटरब्याज) तमसुक गराएर घरजग्गा समेत कब्जा गरे ।

पीडित महिलाले ०८० साउन १४ गते जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचविखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत ‘मानव बेचबिखन तथा ओसारपसार’ सम्बन्धी कसुर मुद्दामा जाहेरी दर्ता गरिन् । सोही कसुरमा ललितपुर जिल्ला अदालतमा ०८० भदौ ५ गते मुद्दा दर्ता गरिएको थियो । न्यायाधीश बख्रेलको एकल इजलासले गत जेठ १३ गते मालीविरुद्ध मानव बेचविखन तथा ओसारपसार कसुरमा दोषी ठहर गरेको थियो । सोही अनुरुप आइतबार सजाय निर्धारण गरिएको हो । माली कारागारमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७