ओमान बन्यो टी–२० विश्वकपबाट बाहिरिने पहिलो देश
काठमाडौं । ओमान आइसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । गए राति सम्पन्न खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो देश बनेको हो ।
ओमानले दिएको १५१ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो । योसँगै ओमानले यस विश्वकपमा लगातार तेस्रो हार व्यहोरेको छ र विश्वकपबाट बाहिरिएको छ । अब समुह चरणको अन्तिम खेलमा ओमानले जुन १४ मा इङल्याण्डसँग खेल्ने छ ।
त्यस्तै समूह ‘बी’ मा स्कटल्याण्डले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । स्कटल्याण्डले इङल्याण्डविरुद्धको पहिलो खेल बर्षाले रद्द भएपछि एक अंक हासिल गरेको थियो । अब तीन खेलपछि ५ अंक भएको छ भने समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको छ । अब स्कटल्याण्डले आफ्नो अन्तिम खेल जुन १६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।