कांग्रेसले सडक संघर्ष सशक्त बनाउन उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सशक्त सडक आन्दोलन गर्ने भएको छ । आज (बुधबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सहकारीपीडितको मुद्दा लिएर सडकमा उत्रिने निर्णय गरेको हो ।
कांग्रेसले आगामी आइतबार काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको कांग्रेसले काठमाडौं केन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने उनले जानकारी दिए ।
आन्दोलनमा बढी जनसहभागिता गराउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइनेबारे छलफल भएको उनले जानकारी दिए । कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।