गिद्ध बासस्थान महोत्तरीको राई मण्डल यसरी बन्न सक्छ पर्यटन केन्द्र
–बिशाल बस्नेत
महोत्तरी । नवलपरासीको कावासोतीबाट ४ किलोमिटरभित्र ‘जटायु रेष्टुरेन्ट’ सञ्चालनमा छ । पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा झण्डै १४ बर्षदेखि सञ्चालनमा रहेको उक्त रेष्टुरेन्टमा गिद्धका लागि आहार जुटाइन्छ । जसले गर्दा एकातिर संसारवाट लोपोन्मुख अवस्थामा रहेको यो पंक्षीको संरक्षण भएको छ भने अर्कोतिर महत्वपूर्ण पर्यटन केन्द्रको रुपमा विकास हुँदा स्थानीयको आयआर्जनमा समेत वृद्धि भएको छ ।
तर महोत्तरीको उत्तरी क्षेत्र राई मण्डल डाडामा ठूलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । बर्दिवास नगरपालिकाको उपल्लो क्षेत्र राई मण्डल डाँडामा प्राकृतिक बासस्थान बनाएका हजारौं गिद्धहरु आहाराको छटपट्टीमा रहेका छन् भने जंगल क्षेत्रमा फ्याकिएका विषाक्त मृत जनावरहरु खाँदा मर्ने क्रम समेत बढेको स्थानीयहरू बताउँछन् । राई मण्डल डाँडाको सेतो भिरमा अहिले पनि जुनसुकै समयमा सयौ गिद्धहरु देख्न सकिन्छ अझ विहानको समयमा त आकाशभरी हजारौं गिद्धहरु देख्न सकिने स्थानीय बासिन्दा बलबहादुरको भनाई छ ।
‘दुईदेखि तीन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन्’ उनले भने, ‘विशे षगरी सेतो भिर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।’ जंगल क्षेत्र सिन्धुली–बर्दिवास सडक खण्डमा कहिलेकाँही मरेको गाई–भैसी फ्याँक्दा आहारको लागि बाक्लै संख्यामा जम्मा भएता पनि फरक–फरक प्रजातिका गिद्ध भने विस्तारै लोप हुँदै गएको स्थानीय बासिन्दाको भनाई छ । ‘हामी कुन जाति हो भन्ने त चिन्दैनौ तर यहाँ ४ देखि ५ थरीका गिद्ध देख्न सकिन्छ’, स्थानीय विजय पोखरेलले भने, ‘यसको उचित संरक्षण भएन भने कुनै पनि गिद्ध हाम्रा पाखामा देख्न नसकिने अवस्था बन्दै गएको छ ।’ अध्यनअनुसार नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ । यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा ४ प्रजाति भेटिएको छ । राई मण्डलका स्थानीयले बताएअनुसार यही क्षेत्रमा मात्र ४ देखि ५ थरीका गिद्ध देखिन्छन्, जुन फरक–फरक रुपरङ्गका छन् ।
महोत्तरीका पुराना पत्रकार रविन्द्र उप्रेती वास्तवमै महोत्तरीको उत्तरी क्षेत्र गिद्धहरुको ठूलो बासस्थान भएको बताउँछन् । सरकारले गिद्ध सरक्षणको लागि ‘गिद्ध कन्जर्भेसन एक्सन प्लान फर नेपाल (सन् २०१५–२०१९)’ भन्ने कार्यक्रम लागु गरेदेखि यहाँको बिषयमा कलम चलाएको स्मरण गर्दै त्यतिवेलाको संख्या अहिले निक्कै कम भएको पत्रकार उप्रेतीको भनाइ छ । ‘पहिले त पुरा आकाश नै गिद्धले ढाकेका हुन्थे’, उनले भने । पशु उपचारमा डाइक्लोफेनेकको पहिले–पहिले व्यापक प्रयोग हुनु र नासिनु, उचित हेरचाहको अभावमा स्तान्तरण हुनु जस्ता कारणले बर्दिवासको आकाशमा पहिले जस्तो गिद्धको संख्या कम हुँदै गएको उनको तर्क छ ।
अहिलेको अवस्थामा पनि स्थानीय सरकारले गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने कतिपयको सुझाव छ । उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णुबहादुर खडकाले राई मण्डल आकाशमा देखिने गिद्ध र बासस्थानलाई सुरक्षित गर्न नवलपरासीको जस्तै जटायु रेष्टुरेन्ट खोल्न सकिने आधार देखिएको बताए । त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले गिद्ध हेर्नका लागि स्थलगत अनुगमन नै गरेको बताउँदै वास्तवमा नै उक्त स्थललाई चराचुरुङ्गीहरुसँग जोडेर पर्यापर्यटनको रुपमा विकास गर्न सकिने महत्वपूर्ण आधार रहेको र यसका लागि स्थानीय सरकारले तत्काल नै नेतृत्व गर्नुपर्ने बताउँछन् ।
अहिले चरिचरनका लागि स्थानियहरुले जंगलमा छाडेका पशुचौपायालाई बन्यजन्तुले कहिलेकाँही मार्ने र त्यसैलाई उनीहरुले आहार बनाउने हुँदा बासस्थान समेत यतै बनाएको स्थानीय राजन मगर बुझाइ छ । ’बडो रमाइलो लाग्नेगरी आकाशभरी गिद्ध घुम्दा मन नै उत्साहित हुन्छ, एकैछिन भए पनि सारा थकान मेटिन्छ’, उनी खुशी हुँदै भन्छन् । तर सरोकारवाला निकायले ध्यान नदिँदा गिद्धकै कारण मनोरम बनेको राई मण्डलको अस्तित्व नै समाप्त हुने त हैन भन्ने स्थानीयहरुमा चिन्ता थपिएको छ । ‘कतिपय मानिस त बाहिरबाट समेत गिद्ध हेर्नकै लागि राई मण्डल आउने गर्दछन् । जसले यो ठाउँको महत्वलाई अनौपचारिकरुपमा प्रचारप्रसार भईरहेको छ’, बर्दिवास–३ का रमेश खत्रीले भने, ‘स्थानीय सरकारले यसमा भूमिका खेलिदिनु पर्ने देखिन्छ ।’
स्थानीय पत्रकारहरुले स्थानीय र मुलधारका मिडियाबाट समाचार सम्प्रेषण गरेपछि यो ठाउँको चर्चा बढ्दै गएको देखिएको छ । यसैको परिणामस्वरुप विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले राई मण्डल डाँडामा पदयात्रा नै आयोजना गरेका छन् । उद्योग बाणिज्य संघ बर्दिवासको टिम यस क्षेत्रमा भएका सम्भावनाहरुलाई लिएर संघीय मन्त्रालयमा डेलिगेशन नै गएका थियो । गिद्धलगायत राई मण्डलको पर्यटकीय सम्भावनाहरुको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयबाट केही दिनभित्रै विज्ञ टोली नै पठाउने आश्वासन भएको संघका अध्यक्ष खड्काले जानकारी दिए । अहिले पछिल्लो समय पशुचौपायाको उपचारमा प्रयोग हुँदै आएको एसिक्लोफेनेक, किटोप्रोफेन, निम्सुलाइड औषधि प्रचलनमा प्रचलनमा देखिएका छन् यी औषधि पनि गिद्धका निम्ति केही मात्रामा हानिकारक नै भएको विज्ञहरु बताउँछन् । –न्यूज कारखाना
.gif)

.png)

