दाङमा साइकल जोगाउन खोज्दा मोटरसाइकल पल्टियो, दुई युवकको गयो ज्यान
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ स्थित घोराही–तुलसीपुर सडक खण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उपमहानगरपालिका– १६ सर्रा चोकमा तीव्र गतिको मोटरसाइकल आफै दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
सडकमा गुडिरहेको साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि साइकल चालक भने बेपत्ता छन् । साइकल भने सडकमै भेटिएको प्रहरीले जनाएको छ ।