उपसचिवले हाने महिला अधिकृतको गालामा ‘चड्कन’
काठमाडौँ । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एक महिला शाखा अधिकृतमाथि कुटपिट गरेका छन् । प्रतिवेदनमा नाम छुटाएको भन्दै गैरेले महिला अधिकृतको गालामा ‘चड्कन’ लगाएका हुन् ।
ती महिला अधिकृतले घटनाका विषयमा बुधबार उपसभामुख इन्दिरा राना मगरलाई जानकारी गराएकी छन् । घटनाबारे थाहा पाएपछि उपसभामुख रानामगरले आज (बिहीबार) गैरेलाई उपस्थित गराएर घटनाबारे जानकारी लिने भएकी छन् ।
‘एक झापट हान्नु भएको रहेछ । घटनाबारे महिला कर्मचारीले जानकारी गराउनु भएको छ,’ उपसभामुख रानामगरले भनिन्, ‘आज पीडकलाई बोलाउने भएको छु । कुरा दुवैको सुन्नुप¥यो । यदि गलत भएको हो भने माफी माग्नु पर्छ ।’ कानुन बनाउने थलो संसदमै उपसचिव तहको कर्मचारीले महिला कर्मचारीमाथि अभद्र व्यवहार गर्नु गलत र गम्भीर विषय भएको उनले बताइन् ।
सांसदहरुले बोलेका विषयहरूलाई टिपोट गरी तयार पारिने बुकमा तत्कालीन अवस्थामा आफू पनि भएकोले नाम किन छुटाएको ? भन्दै गैरेले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘अहिले अन्तै सरुवा भए पनि त्यो अवस्थामा आफू समेत संलग्न भएकोले आफ्नो नाम नराखेको भेटिएपछि गालामा चड्कन हानेको विषय हो, खासै केही होइन’ ती प्रत्यक्षदर्शीले भने ।