बाजुरामा भूकम्पको धक्का, जाजरकोटमा हालसम्म ४४४ पराकम्प
बाजुरा । बाजुरामा आज (मंगलबार) दिउँसो भूकम्पको धक्का महसुस भएको छ । १२ः५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो धक्का नयाँ भूकम्प नभएर पराकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको पराकम्प भएको केन्द्रले जनाएको छ ।
यसबीच गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल ४४४ पराकम्प मापन गरिएको छ ।
शुक्रबार ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट १५३ जनाको ज्यान गएको छ भने तीन सय बढी घाइते भएका छन् । त्यसयता मंगलबार बिहान साढे ११ बजेसम्म जाजरकोटमा ४४४ परकम्प मापन भइसकेको उनले बताए ।