आर्यघाट लैजानुअघि वडाध्यक्ष रिजालको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिने
काठमाडौं । दुबै फोक्सोमा भाइरल निमोनिया भएर निधन भएका काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिब शरिरलाई राष्ट्रिय सभा गृहमा राखिने भएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उनको पार्थिक शरिरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
ग्राण्डी अस्पतालका मेडीकल डाईरेक्टर डा. विनोद विजुक्छेका अनुसार उपचारका क्रममा आज बिहान ७ः३० बजे रिजालको निधन भएको हो । उच्च ज्वरो र निमोनियाँ देखिएपछि उनलाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
अस्पलालबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘मुकुन्द रिजाल मिति २०८० भदौ १७ गते आईतबारका दिन दिउँसो १ बजे दुबै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना हुनु भएको र उपचारको क्रममा आज मिति २०८० भदौ २१ गते बिहान ७ः३० बजे निधन भएको हुदाँ हार्दिक समवेदना प्रकट गर्दै सबैमा जानकारी गराउँदछौं ।’ रिजाल कांग्रेसबाट दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए । रिजालले ४ हजार १९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी रत्न तुलाधरले ३ हजार ३१० मत पाएका थिए ।
मेयर बालेन शाह र उपमेयर सुनितासहित कांग्रेस नेता–कार्यकर्ता ग्राण्डी पुगे
काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् । डेंगुबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार निधनपछि उनीहरु अस्पताल पुगेका हुन् ।
ग्राण्डी अस्पताल पुगेका मेयर शाह र उपमेयर डंगोल लगायत कांग्रेसका नेता कार्यकर्ताहरू निकै भावुक देखिएका छन् । रिजालको बिहान निधन भएको थियो । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।