सभामुख र प्रधानमन्त्री व्यस्त भएपछि आजको प्रतिनिधिसभा वैठक भोलिलाई सारियो


२०८० भदौ ५ मंगलबार ११:४५ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज (मंगलबार) दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ११ बजेका लागि सारिएको हो । संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ११ बजेसम्मका लागि स्थगित गरेको हो ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेताहरूले भोलि बिहानसम्मका लागि बैठक स्थगित गर्ने सहमति गरेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार सभामुख र प्रधानमन्त्री व्यस्त हुने भएपछि आजको बैठक सरेको हो ।
‘आज ४ बजे नै प्रधानन्यायाधीशको शपथ ग्रहणमा प्रधानमन्त्री र सभामुख पनि जानपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको हो,’ उनले भने । उनका अनुसार प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली पनि बिरामी छन् ।

‘मंगलबार दिउँसो ३ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुख ज्यूले सभाको अर्को बैठक २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७