कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
मोरङ । कोशी प्रदेशसभा बैठक ३० मिनेट (आधा घण्टा) का लागि स्थगित भएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको प्रस्तावमाथि छलफल सकिएपछि सभामुख बाबुराम गौतमले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । प्रदेशको राजनीतिक स्थायित्व कायमलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । आजै पुनः बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनेछ । उनलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसदको समर्थन चाहिन्छ ।
उनलाई राप्रपाको साथ छ । कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । एमालेका ४० र राप्रपाका ६ गरेर सत्तारुढसँग ४६ सांसद छन्। कार्कीलाई विश्वासको मतका लागि थप एक सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग पनि सभामुख बाहेक ४६ नै सांसद छन् ।