मुगु, २३ बैसाख । आफूलाई ‘विप्लव’ माओवादीको कार्यकर्ता बताउने एक समूहले छायाँनाथ रारा नगरपालिकामा एक किशोरीमाथि बलात्कार प्रयास गरेको छ । शनिबार वडा नम्बर १० झाकोट गाउँ निवासी १५ वर्षीया किशोरी स्याउला लिन गएका बेला सोही वडामा पर्ने घट्टलेक गाउँ निवासी दिपेन्द्र सेजुवाल, रविन्द्र सेजुवाल पृथ्वी सेजुवाल, देवेन्द्र सेजुवाल र लोकेन्द्र सेजुवालले बलात्कार प्रयास गरेका थिए ।
बलात्कार प्रयास गर्न खोजेपछि किशोरीले ‘दाइ भन्दै रोएपछि’ नजिकै घर बनाउने काम गरिरहेका उनका जेठा दाइ सन्तोष बुढा, आमा विष्णु बुढा र अन्य महिला उद्धार गर्न पुगेका थिए । उद्धार गर्न पुगेका सन्तोषलाई उनीहरुले कुटपिट गर्री जंगलतिर भागेको बालिकाकी आमा विष्णुले जानकारी दिएकी छन् । गम्भीर घाइते भएका सन्तोषलाई आइतबार बिहान जिल्ला अस्पतालमा ल्याइएको छ । उनको टाउकोमा आठ वटा टाँका लागेको र थप उपचारका लागि आइतबार नै नेपालगञ्ज लगिएको छ ।
पीडित किशोरीका परिवार न्याय माग्दै आइतवार महिला बालबालिका कार्यालय पुगेका छन् । आफुहरू विप्लव समूहका कार्यकर्ता भएको भन्दै ‘जे पनि हुन सक्ने’ धम्की दिएर उनीहरु जंगलतर्फ भागेको पीडितको भनाइ छ ।
महिला तथा बालबालिका कार्यालयको तथ्यांक हेर्दा जिल्लाभरि महिला हिंसा, बलात्कार प्रयासका उजुरी हेर्दा चालु आर्थिक वर्षको वैशाख २३ गतेसम्म सबैभन्दा बढी यही स्थान साविकको रोवा गाविसमा मात्र ८ वटा यस्ता घटना भएका छन् ।