दरबारमार्गको पसलमा प्राचीन मूर्तिको अवैध कारोबार, तीन जना पक्राउ


१७:२१ बजे
काठमाडौं, २३ बैसाख । काठमाडौंस्थित दरबारमार्गको एक पसलले खुलेआम रुपमा प्राचीन मूर्तिका साथै बहुमूल्य प्राचीन वस्तुहरुको अवैध कारोबार गर्दै आएको भेटिएको छ । १२ औं शताब्दीको हो भन्दै करोडौं मूल्यमा प्राचीन मूर्तिहरु बेच्न खोज्ने तीन जना क्युरियो आर्टका ब्यापारीहरुलाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य खुलेको हो । बिक्री गर्न लागिएको ९ सय वर्ष पूराना बहुमूल्य धातुका मूर्तिसहित उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दरबारमार्ग (काठमाडौं) स्थित क्युरियो आर्टका सञ्चालक ५६ वर्षका दीपकरत्न शाक्य, क्युरियो कन्सर्नका २९ वर्षका सुगतरत्न शाक्य र देबाज आर्टका सञ्चालक ३१ वर्षका शिशिर शाक्य रहेको सिआइबीले जनाएको छ । ब्यूरोका अनुसार शाक्यत्रयले बहुमूल्य धातुका मूर्तिलगायतका बस्तु १२ औं, १३ औं, शताब्दीको भन्दै करोडौं मूल्यमा बिक्री गर्न खोजेका थिए । उनीहरुका साथबाट प्रहरीले बुद्धका र अन्य २४ वटा मूर्ति, विभिन्न धातुबाट बनेका पातासहितका प्रतिमा १८ वटा, बीचमा प्वाल भएका १ सय १ वटा पुराना सिक्का बरामद गरेको छ । । एक सय वर्षभन्दा पूरानो मूर्तिको कारोबारमा प्रतिबन्ध भए पनि उनीहरुले नयाँलाई पूरानो तथा पूरानोलाई नयाँ बनाएर यस्तो कारोबार गर्दै आएको अनुसन्धानमा खुलेको छ । एउटा मूर्तिको उनीहरुले करोडौं मूल्य लिने गरेका थिए । विदेशीहरुलाई मूर्तिजन्य चिजबस्तुहरु बिक्री बितरण गर्दा पुरातत्व विभागबाट त्यस्तो बस्तुको निर्यात अनुमति स्वीकृति लिने गरेको र बिदेशमा मूर्तिजन्य बस्तुहरु एचएलके इन्टरप्राइज (कार्गाे) बाट पठाउने गरेको प्रहरीले बताएको छ । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार स्वीकृति विना कुनैपनि पुरातात्विक महत्वका बस्तु एवं मूर्तिहरु ओसारपसार गर्न पाइँदैन । यस प्रकारको कसुर गर्नेलाई २५ हजार जरिवावान वा ५ बर्ष कैद हुने व्यवस्था छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार म्याद थप गरी अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । पक्राउ परेकाहरु तीन पुस्तादेखि यही कारोबारमा संलग्न रहिआएको बुझिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७