वनभोज गएका युवकको जंगली हात्तीको आक्रमणबाट मृत्यु


०१:३९ बजे

सिरहा । सिराहाको गोलजबरा नगरपालिका–३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरुसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार जंगली हात्तीको आक्रमणमा गोलबजार नगरपालिका–३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदाको मृत्यु भएको हो ।

खानेकुरा पकाएर खाने क्रममा मंगलबार अपरान्ह्र करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुईवटा हात्तीको समूहले आक्रमण गरेपछि सदाको घटनास्थमै मृत्यु भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्राज पाण्डेले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार हात्ती देखेपछि अन्य भाग्न भ्याए पनि सदा भाग्न नभ्याउँदा आक्रमणमा परी मृत्यु भएको हो । घटनास्थलबाट भागेका युवाहरुले घटनाको जानकारी दिए लगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सूर्य ढकालको कमाण्डमा १२ जना प्रहरीको संयुक्त टोलीले एम्बुलेन्समा राति करिब साढे १० बजेतिर शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पअताल ल्याएको छ ।

मंगलबार अपरान्ह हात्तीको आक्रमणमा युवकको मृत्यु भए लगत्तै राति पुनः हात्तीको आक्रमणमा स्थानीय मुनिलाल घिसिङको घरमा क्षति पुगेको गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिएका छन् । वडाध्यक्ष मोक्तानका अनुसार उनको घरमा भएको क्षतिको विषयमा बुधबार बिहान प्रहरी समेतको सहयोगमा स्थलगत अनुगमन गरिँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७