काभ्रे, २ बैसाख : काभ्रेस्थित रोडा–ढुङ्गा (क्रसर) उद्योगमा अज्ञात समूहले वम विष्फोट गराएको छ । नवबुद्ध नगरपालिकाको चौकीडाँडास्थित ब्लुसाइन रोडा–ढुङ्गा उद्योगमा वैशाख १ गते विहान बम बिष्फोट गराउनुका साथै उद्योगको मेशिन र सवारी साधनमा आगजनी गरिएको छ ।
हातहतियारसहित आएको समूहले उद्योगमा रहेका केही मजदुर र सुरक्षा गार्डहरूलाई बाहिर निकालेर बिष्फोट गराएको जनाइएको छ । बम बिष्फोटमा क्रसर मेशिन, तीन वटा स्काइभेटेर र ट्रिपरहरूमा क्षति पुगेको छ । बम बिष्फोटपछि आगलागी भएको थियो । घटनापछि बम डिस्पोजल टोलिसहित नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीले घटनाको अवलोकन गरेका थिए । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।
उद्योग सञ्चालक विश्वास कार्कीले आक्रमणबाट १०श करोडको क्षति भएको बताएका छन् । शनिबार नै इलामको चुलाचुलीस्थित गाउँपालिकाको कार्यालयमा पनि वम विष्फोट गराइएको छ । विष्फोटबाट गाउँपालिका कार्यालयमा क्षति पुगेको छ । वम विप्लव माओवादीले विष्फोट गराइएको आशंका गरिएको छ । पछिल्लो समय देशका केहि जिल्लामा विप्लव माओवादीका नाममा विष्फोटका घटना देखिन थालेका छन् ।