सिरहा–२ मा पूर्वमन्त्रीहरु चित्रलेखा यादव र राजकिशोर यादवबीच हुँदै कडा प्रतिस्पर्धा

सिरहा । सिरहा–२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सत्ता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।
सिरहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा प्रभावकारी स्वतन्त्र उम्मेद्वारहरू अन्य क्षेत्रमा घर भएका छन् । कांग्रेसकी चित्रलेखा यादवको घर सिरहा नगरपालिकामा छ । उनले माइती नवराजपुर– ४ नहरनियाँबाट मतदान गर्नेछिन् ।
एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव उनी पनि यस क्षेत्रका मतदाता होइन । उनी नरहा गाउँपालिका ३, चोहर्वाका हुन् । उनी प्रायः चुनावै पिच्छे क्षेत्र फेर्ने नेतामा पर्छन् । पहिलो संविधानसभा २०६४ मा सिरहा– ६ बाट विजयी भएका उनी दोस्रो सम्विधानसभा २०७० मा त्यहीं पराजित भए । २०७४ मा सिरहा–४ बाट विजयी भएका उनी अहिले क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनको क्षेत्रमा पार्टीका नेता डा. वीरेन्द्र महतोले नछोडेपछि उनी २ नम्बरमा गएका हुन् ।
यही क्षेत्रबाट लेखक तथा राजनीतिकर्मी रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पनि यस क्षेत्रका मतदाता होइनन् । उनी सिरहा नगरपालिका १९ सन्हैठाका मतदाता हुन् । सन्हैठा सिरहा क्षेत्र नम्बर ३ मा पर्छ । प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादव पनि आफैलाई मत हाल्न पाउँदैनन् । उनी पनि सिरहा ४ नम्बर वडाका मतदाता हुन् । उनको घर पनि सिरहा क्षेत्र नम्बर ३ मा पर्छ ।
यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । उनीसहित साना पार्टी र स्वतन्त्र गरी २४ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन् ।
यो क्षेत्रमा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनकै बीच भारी प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका उम्मेदवार चित्रलेखा यादवको पल्लाभारी रहेको दाबी गरिएको छ । यस क्षेत्रमा पर्ने सत्ता गठन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मतलाई आधार मान्दा सत्ता गठबन्धन नै अगाडि देखिएको हो ।