सन्दीप लामिछाने केन्द्रीय कारागार चलान
काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले केन्द्रीय कारागार सुन्धारा पुर्याएको छ । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि प्रहरीले लामिछानेलाई केन्द्रीय कारागार सुन्धारा लगेको हो ।
केहीबेरअघि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई थुनामा राख्न आदेश दिएको थियो ।
लामिछानेलाई सुन्धारा कारागारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले नयाँ पत्रिकालाई बताए । गत २० असोजमा पक्राउ परेका लामिछानेविरुद्ध १४ कात्तिकमा मुद्दा दायर भएको थियो । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।
‘मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामा राख्न आदेश भएको छ,’ काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले भने । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।
लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।
जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए। त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।