चालु आवको शुरुमै घट्यो विदेशी मुद्रा सञ्चिति, आठ महिना मात्र आयात धान्ने


२०७९ भदौ ३० बिहीबार ०८:३६ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा कूल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घटेको जनाएको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाइएको छ ।

चालु खाता १६ अर्ब २६ करोडले घाटामा
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता साउन महिनामा १२ करोड ७७ लाखले घाटामा रहेको राष्ट्र बैंकले आज जारी एक विज्ञप्तिमा उल्लेख छ ।

गत साउन महिनामा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७