फोहोर व्यवस्थापनका लागि सभामुखले मागे कोरियासँग सहयोग

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सहयोग मागेका छन् । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाली संसदीय प्रतिनिधिसँगको छलफलमा सभामुखले यस्तो सहयोग मागेका हुन् ।
काठमाडौंको फोहोर व्यवस्थापन सकसपूणर् भइरहेका बेला सभामुखले कोरियाली संसदीय टोलीसँग फोहोरमैला व्यवस्थापन गर्न सहयोग माग्नुलाई अर्थपूणर् रूपमा हेरिएको छ । जापानको भ्रमण गरी फर्किने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले काठमाडौंको फोहोर व्यवस्थापन गर्न जापान सरकारसँग सहयोग मागेको बताएका थिए ।
सभामुख सापकोटाले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउँदै राजधानी काठमाडौंको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको बताए । वातावरण क्षेत्र हेर्ने जिम्मेवारीमा रहेका सांसद संलग्न प्रतिनिधिमण्डलले नेपालका विभिन्न सहरमा फोहारमैला व्यवस्थापनमा कोरियाले सहयोग गरिरहेको बताए।
काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा स्वदेश फर्केपछि गहिरो अध्ययन गर्ने सभामुखलाई जवाफ दिएका थिए । सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताए ।
भेटमा दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट कोरिया नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लि स्याङ हेयोनले आफूहरू दक्षिण कोरियाको संसदमा रहेर नेपाललाई माया गर्ने सांसदहरु रहेको बताए । प्रतिनिधिमण्डलमा लि सहित सांसदहरु बाइयोङ गिल एन, ह्याक योङ लि, वियोङ जु किमका साथै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकलगायत सहभागी थिए ।