राष्ट्रपतिलाई भेट्न साँझपख किन पुगे प्रधानमन्त्री शीतलनिवास ?
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच शनिबार साँझ भेटवार्ता भएको बताएका छन् । स्रोतका अनुसार भेटमा प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच नागरिकता विधेयक, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफल भएको थियो ।
राष्ट्रपति भण्डारीले दुई साताअघि नै संसद्बाट पारित भएको विधेयक प्रमाणीकरण गरेकी छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहहरूले भने सो विधेयक फिर्ता पठाउन माग गर्दै आएका छन् ।