अमेरिकी सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्काबीच सिंहदरबारमा भेटवार्ता भएको छ । शुक्रबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर लुले खड्कासँग संवाद गरेका हुन् ।
बिहीबार दुई दिने नेपाल भ्रमणका लागि लुले शुक्रबारै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यतालिका रहेको छ । सैन्य कार्यक्रम एसपीपी अघि नबढाउने नेपालको निणर्यपछि अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लु बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।
दुई जनाबीचको भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धनका अनेक आयामबारे कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुई पक्षबीच हाम्रो सम्बन्धनका अनेक पक्षमा कुरा भएको छ । भेटमा विकास साझेदारी, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोभिड-१९ को खोपबारे पनि चर्चा भयो’, मन्त्रालयले भनेको छ ।