भीम रावललाई संसदमा बोल्न दिएको भन्दै एमालेको आपत्ति
काठमाडौं । प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । आज (आइतबार) बसेको संसद बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई भेटेर रावललाई दलीय आधारमा बोल्न दिएको भन्दै आपत्ति जनाएका हुन् ।
सभामुख समक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति नभइ दलीय अनुमति बेगर बोल्न दिएकोमा आपत्ति प्रकट गरेको भट्टराईले बताए । रावलले धारणा राखिरहँदा एमाले सांसद भने रोष्ट्रममा नाराबाजी गरिरहेका थिए । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आइरहेको छ ।