देश छाडेर भागे अफगानी राष्ट्रपति अशरफ गनी
काठमाडौं, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ गनी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तालिवान लडाकुको धम्कीका कारण राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तानतर्फ लागेको तोलो न्युजले उल्लेख गरेको छ । त्यहाँबाट उनीहरु अर्को मुलुकतर्फ जाने जनाइएको छ ।
रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन् । घानीका निकट सहयोगीहरुले देश छाडेका छन् ।
आज (आइतबार) दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलाई सुम्पेको बताएका थिए ।
अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ। तालिबानले राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएको विवरणहरू सार्वजनिक भएका छन्। १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए।
गनी कहाँ जाँदैछन् भन्ने स्पष्ट छैन। तर केही रिपोर्टहरूमा उनी छिमेकी देश ताजिकिस्तानतर्फ लागेको बताइएको छ।
यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो। यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो।
आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो। राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः ूकाबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।ू
केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्। तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो।
काबुलस्थित विमानस्थलमा गोली चलेको आवाज सुनिएको अमेरिकी दूतावासले जारी गरेको सुरक्षा सम्बन्धी पछिल्लो सन्देशमा उल्लेख गरिएको छ।
Good bye ? Ghani
Now INSHAALLAH future of Afghanistan will be bright & secured.#Taliban#Afghanistan#Kabul pic.twitter.com/4ftoGhiays— Zabeeh Ullah Baloch (@ZabihBaloch) August 15, 2021
को हुन तालिबान ?
पाश्तो भाषामा तालिबानको अर्थ ‘विद्यार्थीहरू’ भन्ने हुन्छ। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको थियाे।
सन् १९९० को दशकको पूर्वार्धमा अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो। अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए। साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको थियो ।
पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो। तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो। दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भएको तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्यो।
सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।
राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो। तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए। दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।
सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भयो । न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल–कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो। करिब तीन हजार मानिसको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्यो ।
जवाफमा योर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान युद्धको सुरूवात गरेका थिए । डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भएकाे थियाे।