कोपा अमेरिका : इन्जुरी समयमा पेरुलाई हराएर कोलम्बिया तेस्रो
काठमाडौं, २६ असार । लुइस डियाजले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेको निर्णायक गोलमा कोलम्बियाले कोपा अमेरिकामा पेरुलाई ३–२ ले हराएर तेस्रो स्थान हात पारेको छ ।
कोलम्बियाले एक गोलले पछाडि रहेको स्थितिमा यो जित निकालेको हो । खेल टाइब्रेकरतर्फ अग्रसर भएको बेला डियाजले लामो दूरीबाट उत्कृष्ट गोल गरेका हुन् ।
यासिमर युलुनको गोलले पहिलो हाफको इन्ज्युरी समयमा पेरुले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि कोलम्बियाका तर्फबाट जुवान क्वाडराडो र डियाजले नै एक–एक गोल गरे । जियान लुका लापाडुलाले ८३ औं मिनेटमा पेरुका लागि गोल गर्दै खेल फेरि बराबरीको स्थितिमा ल्याए ।
निरश पहिलो हाफपछि दोस्रो हाफमा सनसनीपूर्ण खेल भएको थियो र यसक्रममा चार गोल भएको हो । कोपा अमेरिकामा सन् १९८७ देखि तेस्रो स्थानका लागि खेल हुने परम्परा शुरु भएको थियो र त्यस्तै अनुसार कोलम्बियाले तेस्रो स्थान हात पारेको यो पाँचौं पल्ट हो । अब आइतबार बिहान ब्राजिल र अर्जेन्टिनाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।