विप्लवका दाइ वीरजंगलाई अदालतले बोलायो बयानका लागि
काठमाडौं, ३० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ लाई विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन अदालतले सूचना जारी गरेको छ ।
उनलाई जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ । ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्दा फैसला हुनेछ,’ जिल्ला अदालत रुपन्देहीले जारी गरेको सूचनामा भनिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढी घर भनिए पनि सो वतनमा उनी फेला नपरेपछि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बयानका लागि बोलाइएको अदालतले जनाएको छ । गत फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूह शान्तिपूर्ण राजनीतिमा आएको थियो ।
सरकारले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउँदै उसका नेता कार्यकर्ताहरुको रिहाइ र उनीहरुमाथि लागेका सबै मुद्दाहरु खारेज गर्ने सहमति जनाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।