आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माणको पहलमा जुटेका देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं, २९ चैत । आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल थालेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी वैठक बोलाएका छन् ।
सभापति शेरबहादुर देउवाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् । कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका अनुसार पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए । सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बैठकमा नयाँ सरकार गठन गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग भइरहेका छलफलबारे जानकारी गराइने शर्माले बताए ।
शुक्रबार देउवाले नयाँ सत्ता समीकरणका विषयमा माओवादी केन्द्र र जसपासँग आफ्नै निवास (बूढानीलकण्ठ) मा छलफल गरेका थिए । छलफलमा देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने घोषणा गर्दै सहयोग गर्न आग्रह गरेका थिए । देउवाको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक भए पनि जसपाले भने निर्णय गर्न समय मागेको छ ।