चीनद्वारा अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना


२०७७ चैत २८ शनिबार ०१:३८ बजे

काठमाडौं, २८ चैत । ई–कमर्स क्षेत्रमा विश्वचर्चित चिनियाँ कम्पनी अलिबाबामाथि चीन सरकारले २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ ।
एकाधिकार नियमहरू उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको जनाएको छ । चीनको नियामक निकाय ’बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर)’ ले गत डिसेम्बरमा अलिबाबामाथि सुरु भएको अनुसन्धानका आधारमा उक्त जरिवाना गर्नु परेको जनाएको छ ।

अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौँ व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको दावी छ ।

एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ । कम्पनीको यस्तो व्यवहारले प्रतिस्पर्धा र नवीनतालाई सीमित गरेको र व्यवसाय तथा उपभोक्ताको अधिकार र रुचिलाई उल्लङ्घन गरिदिएको नियामक निकायले जनाएको छ ।

ब्लुमबर्गका अनुसार अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो । अलिबाबामाथिको उक्त जरिवाना कम्पनीले सन् २०१९ मा गरेको कूल बिक्रीको करिब चार प्रतिशत हो । सन् २०१९ मा अलिबाबाले चार खर्ब ५६ अर्ब युआन बराबरको सामान बिक्री गरेको थियो ।

अलिबाबाले सामाजिक सञ्जालमा जरिवानाका सम्बन्धमा स्पष्ट गर्दै सरकारले लगाएको जरिवाना तिर्न बुझाउन राजी भएको जनाएको छ । साथै कम्पनीले सरकारका नियमहरू पूर्ण पालना गरी सामाजिक उत्तरदायित्व निर्वाहका साथ व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । अलिबाबा र अन्य अग्रणी चिनियाँ प्रविधि कम्पनीहरूमाथि पछिल्ला केही समयदेखि चीन सरकारले छानबिन सुरु गरेको थियो । खासगरी चीनका ठूला कम्पनीले चीन सरकारका नीति नियममाथि दबाब बढाउन थालेपछि अनुसन्धान थालिएको हो ।

आजभोलि चीनका करोडौँ नागरिक चिनियाँ प्रविधि कम्पनीहरूको प्रयोग गरिरहेका छन् । ग्राहकहरुले एकआपसमा सञ्चार गर्न, सामान खरिद गर्न, बिल भुक्तानी गर्न, ट्याक्सी खोज्न, ऋण लिन एवं अन्य अनेक किसिमका दैनिक काममा यिनै विशाल प्रविधि कम्पनीहरूको प्रयोग गर्न थालेका छन् ।

तर अलिबाबामाथि चीन सरकार निकै बढी क्रुद्ध भएको थियो । गत अक्टोबरमा अलिबाबाका सहसंस्थापक ज्याक मा ले चिनियाँ नियामक निकायको व्यवहारलाई लिएर आलोचना गरेपछि अलिबाबामाथिको छानबिनलाई तिब्र बनाइएको थियो ।

अलिबाबाले स्थापना गरेको अर्को कम्पनी एन्ट ग्रुपको शेयर जारी गर्ने प्रक्रिया चीन सरकारले अबरुद्ध गरिदिएपछि ज्याक मा बढी नै आक्रोशित भएका थिए । ई–कमर्श क्षेत्रका विशाल कम्पनीहरू अलिबाबा र जेडी डट कम तथा टेन्सेन्टले चिनियाँ जीवनशैलीमै निकै प्रभाव पारिसकेका छन् । अमेरिकी प्रतिस्पर्धी कम्पनीलाई चीनले आफ्नो बजारमा प्रवेश नदिएपछि अलिबाबासहित चिनियाँ कम्पनीले देशभित्रको ठूलो बजारबाट मनग्य फाइदा लिइरहेका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७