बाँदरबाट अन्नबाली जोगाउन तनहुँका किसानले अपनाउन थाले यस्तो उपाय
तनहुँ, २५ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउने नयाँ विधि अपनाएको छ ।
वन जङ्गलमा पर्याप्त आहारा नहुँदा बाँदरले कृषकले खेतबारीमा लगाएको अन्नबाली खाएर नस्ट गर्दै आएको छ । बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबाली समेत खाएर नोक्सान पु¥याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ नम्बर वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ ।
बाँदरको समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताए ।
कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको क्षेत्रीले जानकारी दिए । अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ । खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उनले बताए ।
‘बेसार र अदुवा बाँदरले खाँदैन । उत्पादन पनि राम्रो हुने भएकाले बीउ वितरण गरेका हौं’, क्षेत्रीले भने । बाँदरले क्षति पुर्याउने खेतबारीमा अदुवा र बेसार खेती प्रभावकारी हुने देखिएकाले कृषकको माग अनुरूप बीउ वितरण गरिएको हो । मकै र कोदो लगाउँदा सबै बाँदरले खाएर घरमा भित्र्याउन नपाएको गुनासो किसानले गर्दै आएका छन् । रासस