ओलीका ‘गम्भिर गल्तीहरु’ खुट्याउँदै झलनाथले भने, ‘भिर जाने गाईलाई काँध थाप्न सकिएन’


२०७७ पौष ७ मंगलबार ०३:५७ बजे

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै गल्तीहरुका कारण अप्ठ्यारो ठाउँमा आइपुगेको बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीबाट गम्भिर खालका धेरै गल्तीहरु भएको बताउँदै गलत कामहरु छाडेर प्रतिज्ञाका साथ पार्टीमा आउन समेत आग्रह गरेका छन् ।

बबरमहलमा जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गलत काम गरेको, संविधानको मर्म र भावनालाई कुल्चिएको, पार्टीभित्र गुटबन्दी गरेका कारण नै पार्टीमा अहिलेको संकट निम्तिएको स्पष्ट पारेका छन् ।

ती गलत काम गर्न छोडेर विधि, पद्धति र संविधानअनुरुप चल्ने प्रतिज्ञासहित पार्टीमा आउन उनले ओलीलाई आग्रह गरे । उनले भने ‘अन्यथा भिर जाने गाईलाई काँध थाप्न सकिंदैन ।’
उनले आफ्नै पार्टीका कार्यकर्ताको हत्या हुँदा प्रहरीलाई उजुरी दर्ता नगर्न दबाब दिने, सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीलाई जानकारी नदिने, कुनै प्रकारको छलफल नगर्ने जस्ता गतिविधिमा प्रधानमन्त्री ओली निरन्तर अघि बढेको आरोप समेत लगाए ।

भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखसँग राति तीन घण्टासम्म छलफल गरेको बारेमा पार्टीलाई जानकारी नदिएको उल्लेख गर्दै खनालले उनीहरु बीच के कुराकानी भयो भन्नेबारे देशलाई, पार्टीलाई जानकारी हुनपर्ने बताएका छन् ।

सरकारका अनियमित कार्यलाई लिएर आफूहरुले छलफलका लागि बैठक बोलाउन पटक–पटक आग्रह गर्दै आए पनि ओलीले त्यसलाई लगातार उपेक्षा गरेको उनले बताए । पार्टी विधि, पद्धति, विधानअनुसार चल्ने प्रष्ट पार्दै उनले सोहीअनुसार आफूहरुले पार्टी कमिटीका बैठक बोलाएको र छलफल गरेको उल्लेख गरे ।

तर सचिवालयका पाँच सदस्य एक मत भएको अवस्थामा आफू अल्पमतमा परेपछि ओलीले आफूहरुलाई नै ‘गुट’ का रुपमा चिनाउन हरसम्भव प्रयास गरेको उनले बताएका छन् । खनालले संविधान, लोकतन्त्र, संघीयतासहितका उपलब्धिको रक्षाका लागि एक हुनुको विकल्प नभएको पनि बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७