७५ करोड खर्चेर सिंहदरबारको तीन भागको प्रबलीकरण हुँदै, पूर्वी भाग मंसिरभित्र सकिने


११:०१ बजे

काठमाडौं, १७ कार्तिक । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मंसिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ ।

पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मंसिर मसान्तभित्र सकी त्यसलगत्तै नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्यअनुसार नै कामसक्ने एकाइको प्रतिबद्धता छ । पूर्वी भाग प्रवलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि मङ्सिर मसान्तमै काम सकिने उनको भनाइ छ ।

रानीपोखरी उद्घाटन समारोहमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पनि मंसिर मसान्तभित्र काम सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सारिने प्रतिबद्धता जनाएका थिए ।

गौरी–शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रवलीकरण गरिरहेको छ । उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको लागत रु ७५ करोड रहेको पनि आयोजना निर्देशक सिंहले बताए । उत्तर र दक्षिणी भागको कामका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सँगसँगै भइरहेको छ ।

सिंहदरबार पश्चिमी भाग प्रवलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ चैतसम्ममा सकिने एकाईले जनाएको छ । सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनर्निर्माणको काम समेत शुरु भइसकेको छ ।

सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनर्निर्माण गरिएको हो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।

भूकम्पले क्षतिग्रस्त भएका सिंहदरबार पुनर्निर्माण गर्ने कि प्रवलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रवलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । जसले गर्दा प्रवलीकरणमा समय लागेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७