अडानबाट हटे वामदेव


२०७७ श्रावण १४ बुधबार १५:३९ बजे

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूको लहरमा थिए, नेकपा उपाध्यक्ष वामदेव गौतम।

उपाध्यक्ष गौतमले २८ दिनमै त्यसबाट पछि हटेर ओलीलाई नै प्रतिनिधिसभाको बाँकी अवधिभर प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको एकता महाधिवेशनसम्म ओलीलाई अध्यक्ष बनाउनुपर्ने पनि उनको प्रस्ताव छ ।

उनले अन्य नेतासँगै असार १६ गतेको स्थायी समिति बैठकमा ओलीले दुवै पदबाट राजीनामा मागेका थिए । उनले मंगलबार भने पार्टी विग्रह तत्काल रोक्न ओलीलाई दुवै पदमा कायम राख्नुपर्ने, पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षसहितको जिम्मेवारी एकता महाधिवेशनसम्म दिनुपर्ने बताएका हुन् ।

यस्तै, एकता महाधिवेशन सहमतिमै आयोजना गर्ने, प्रधानमन्त्रीका दैनन्दिनको काममा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने प्रस्ताव गौतमले गरेका छन् ।

प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति तथा सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, सचिवालयको सुझाव र परामर्शका आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमै आयोजना गर्ने प्रस्ताव उनले ल्याएका हुन् ।

उनले आफ्नो ६ बुँदे प्रस्ताव बालुवाटारमा बसेको स्थायी समिति बैठकमा राखेका थिए । उक्त बैठकमा ओली पक्षको अनुपस्थिति थियो ।

‘केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै चलाउन अक्षम नै हो । त्यसकारण हामीले दुवै पदबाट हटाउनुपर्छ भनेकै हौं । उहाँको यति बिघ्न आलोचना भयो तर उहाँ छोड्नै तयार हुनुहुन्न ।

आलोचना सुन्नै चाहनु हुन्न’, उनले भने, ‘यस्तो अवस्थामा पार्टीलाई फुटबाट रोक्नुपर्छ । अहिलेलाई उहाँ (प्रधानमन्त्री) लाई नै चलाउन दिऊँ । महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको बाँकी कार्यकाल उहाँलाई नै प्रधानमन्त्री चलाउन दिऊ । ’

उनले प्रधानमन्त्रीका रूपमा ओलीले गर्ने नियुक्ति र नीति तथा कार्यक्रम र बजेटमा भने पार्टी नियन्त्रित बनाउनुपर्ने, अहिलेलाई विवाद टुंगो लगाउन यही विधि नै उपयुक्त हुने तर्क गरेका छन् ।

उनले केही दिनयता दाहाल–नेपाल पक्षको छलफलमा ओलीको राजीनामाको विषयमा धेरै नअल्झिन आग्रह गर्दै आएका थिए । खुमलटारमा मंगलबार बिहान बसेको ६ सचिवालय सदस्यको छलफलमा यही कुरा गरेका थिए ।

‘मूल कुरा अहिले पार्टी एकताको हो, एकता जोगाउन अब दुई अध्यक्षबीच भएको मंसिर ४ को सहमति कार्यान्वयन गरेर जानु बाहेक अर्काे विकल्पै छैन’, उनले भने, ‘त्यसका लागि छिटो महाधिवेशनको तयारी गर्ने र त्यही बाटोबाट जानु मात्र राम्रो हुन्छ ।’

उनको यस्तो प्रस्तावसँगै उनी दाहाल–नेपाल गठबन्धनबाट बाहिर निस्किएको देखिएको छ । तर उनले ओली पक्षमा पनि सहभागिता देखाएका छैनन् । आफ्नो प्रस्ताव सुनाएर उनी दाहाल–नेपाल पक्षका नेताहरूको बैठकबाट निस्किएका थिए । यो प्रस्तावसँगै उनले आफूलाई कुनै पनि समूहमा आफू नरहेको, एकताको पक्षमा मात्र रहेको बताएका छन् । अन्नपूर्ण पोष्टबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७