सिसुवा पहिरोमा बेपत्ता ११ जनाको खोजी जारी, बर्षा र भिरालो जमिन भएकाले कठिनाइ


२०७७ असार २९ सोमबार १०:३४ बजे

संखुवासभा, २९ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका– १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ ।

पहिरामा ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र, सेना र स्थानीय बासिन्दा बेपत्ताको खोजीमा लागेका छन् । लगातार पानी परिरहेकाले हराइरहेका फेला परेका छैनन् । आज बिहानैदेखि खोजी शुरु गरिएको प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

विकट र भिरालो जमिन भएकाले बेपत्ताको खोजीमा समस्या छ । अहिले पनि पहिरो खस्ने क्रम नरोकिएको स्थानीय बासिन्दाले बताए । प्रहरी, सशस्त्र र सेनाले ७८ घरका ३४९ जनालाई चित्रे गाउँमा सारेका छन् ।

पहिरामा परेर ६५ वर्षीया गोरीमाया र २२ वर्षीया छोरी प्रकृति, राममान, हस्तकुमारी, छोरी एञ्जीला र नम्रता राई हराइरहेका छन् । एञ्जीला गर्भवती थिइन् । अर्का जुद्धबहादुर माने (राई) र श्रीमती उत्तरकुमारी पनि बेपत्ता छन् ।

नजमाया, हर्कराज, आइतमाया राई पनि बेपत्ता छन् । पहिराले राममान राई, जुद्धबहादुर माने, जुद्धबहादुर गैरी, नगमाया, सन्दीप, भीमबहादुर, शीवधन गोवासिंह र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपद् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ हिँडिसकेका छन् ।
खाँदबारीबाट नेपाल प्रहरी १५, सशस्त्र प्रहरी बल १५ र नेपाली सेना ३० गरी ६० जनाको टोली घटनास्थल गएका हुन् ।

दिनभरि झरी परेको र हुस्सु लागेका कारण तयारी अवस्थामा राखिएको हेलिकप्टर उद्धारका लागि ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७