ओलीसँगको छलफल स्थगित भएपछि प्रचण्ड पुगे चितवन, बुझे बाढी–पहिरोको समस्या

चितवन, २७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्न चलिरहेको छलफल स्थगित भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्भावित बाढी, पहिरो र डुबानको समस्याबारे स्थानीयसँग छलफल गरेका छन् । उनले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नु पर्ने अवस्था नरहेको बताएका छन् ।
भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्दै उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए ।
यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद समेत रहेका दाहालले प्रधानमन्त्रीसँगको आजको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताए । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिए ।
दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि वढाएको बताए । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिए । उनले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाए ।
पानी परेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो । दाहाललाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराएकी थिइन् । दाहालले आजै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गर्दैछन् ।