दिनहुँ हजारौं भित्रिन्छन्, स्वास्थ्य परीक्षण न्यून


२१:२५ बजे

कञ्चनपुर, १९ जेठ । कोभिड–१९ को महामारीको नियन्त्रण र रोकथामका लागि नेपाल र भारतमा जारी बन्दाबन्दीबाट रोकिएका नेपाली नागरिक पछिल्ला केही दिनयता स्वदेश फर्किन थालेका छन् ।

भारतमा रेल सेवा शुरु भई नेपालको सीमा क्षेत्रका नगरमा बन्दाबन्दी खुकुलो भएपछि नेपालीहरुले स्वदेश फर्किने अवसर पाएका छन् । तर यो आगमन उनीहरुका लागि अवसरभन्दा पनि कष्टप्रद बन्दै गएको छ । एकै पटक ठूलो संख्यामा उनीहरु फर्किन थालेपछि सुदूरपश्चिम क्षेत्रका जिल्लामा उनीहरुको स्वास्थ्य परीक्षणदेखि क्वारेन्टिन बसाइको व्यवस्थापनमा समस्या थपिँदै गएको छ ।

अर्कातर्फ भारतबाट फर्किएका सुदूरपश्चिमेली नागरिकको कोरोना भाइरसको परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमणको जोखिम प्रतिदिन झनै बढ्दै गएको छ । स्वदेश फर्किएका नागरिकलाई सङ्क्रमण नियन्त्रणका लागि वडास्तरमै क्वारेन्टिन सञ्चालनमा ल्याइए पनि स्वास्थ्य परीक्षणमा भने ठोस पहल भएको छैन ।

लकडाउनका कारण चैत तेस्रो सातादेखि वैशाखसम्म सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदा भारतबाट फर्किनेको संख्यामा कमी आए पनि पछिल्लो समय दशगजा क्षेत्रमै आएर नागरिक अलपत्र पर्न थालेपछि स्थानीय प्रशासनले कैलाली र कञ्चनपुरका नाकाबाट आवागमनमा सहज गरेको हो ।

सीमा क्षेत्रबाट सम्बन्धित पालिकासम्म पुग्ने क्रममा लगत सङ्कलनदेखि उनीहरुलाई यातायातलगायतको सुविधा प्रदान गरिए पनि कोरोना परीक्षण अझै प्राथमिकतामा परेको छैन ।

जेठमा मात्रै कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकाबाट झण्डै ४५ हजार नागरिक भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका छन् । एकै पटक ठूलो संख्यामा नागरिक भित्रिन थालेपछि स्वदेश आगमनदेखि स्वास्थ्य परीक्षण र क्वारेन्टिनको बसाइ प्रतिदिन कठिन बन्दै गएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारसम्म यहाँ ३६ हजार ९९३ जना नागरिकलाई नौ वटै जिल्लाका क्वारेन्टिनमा राखिएको छ । भारतबाट दैनिक हजारौंको संख्यामा यहाँका नाकाबाट स्वदेश फर्किरहेका छन् ।

सुदूरपश्चिममा धनगढीमा मात्र पिसिआर विधिबाट कोरोना जाँच गर्ने एउटा मात्रै प्रयोगशाला सञ्चालनमा रहेको छ । नागरिक आगमनको बेगलाई हेर्दा यो प्रयोगशाला यहाँका लागि अपुग छ ।

‘अन्य प्रदेशमा धमाधम पिसिआर मेसिन जडान गरेर जाँचको दायरा बढाउँदै लगिएको छ’, प्रदेश स्वास्थ्य निर्देशनालय स्रोतले भन्यो, ‘एउटा प्रयोगशालाले हजारौंको संख्यामा क्वारेन्टिनमा रहेका नागरिकको मात्रै जाँच गर्न कति दिन लाग्ला आफैं अनुमान गर्नुस् ।’

सुदूरपश्चिम प्रदेश सरकारले बैतडी र डोटीमा पिसिआर मेसिन जडान गरेर जाँचलाई गति दिन भने पनि त्यो अझै हुन सकिरहेको छैन । भारतबाट खुल्ला सीमानाकाका कारण लुकीछिपी आउँदा सङ्क्रमण फैलिने भन्दै कञ्चनपुर स्थानीय प्रशासनले एक सातायता गड्डाचौकीबाट नेपालीलाई स्वदेश फर्किन दिएको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले आइतबारसम्म गड्डाचौकी नाकाबाट मात्र १६ हजार ८९२ नागरिक भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका छन् । ‘फर्किनेमध्ये अधिकांश सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं ५ का पनि छन् ।’ सहायक प्रजिअ उपाध्यायले सीमा नाकामा तापक्रम मापन गर्नाका साथै लगत राखेर सम्बन्धित पालिका पठाउने काम भइरहेको जानकारी दिए ।

सुदूरपश्चिममा भारतबाट मजदुरी गरेर फर्किने क्रम बढेसँगै यहाँका ८८ वटै स्थानीय तहले क्वारेन्टिन सञ्चालनमा ल्याए पनि व्यवस्थापन भने उचितरुपमा हुन नसकेको गुनासो समेत आइरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताल, डोटी र बैतडीबाट पनि पिसिआर विधिबाट कोरोना जाँचका लागि प्रक्रिया अघि बढेको बताए ।

‘तीन वटै ठाउँमा प्रयोगशालामा चाहिने स्वास्थ्य सामग्री खरिदको प्रक्रिया अघि बढिसकेको छ’, निर्देशक डा अवस्थीले भने, ‘प्रयोगशालाका लागि भौतिक पूर्वाधार नहुँदा पनि केही समस्या भएको छ ।’

उनले प्रयोगशालाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य सामग्री खरिद प्रक्रियाको समस्या र जनशक्तिलगायतका कारणले सुदूरपश्चिममा परीक्षण न्यून भइरहेको बताए । ‘यो स्तरको प्रयोगशालाका लागि यहाँ हामीसँग भौतिक संरचना नै छैन’, अवस्थीले भने, ‘प्रदेश सरकारले पनि चासोका साथ कोरोना नियन्त्रणमा सक्रियता देखाएको छ ।’

त्यसैगरी यहाँका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा कम्तीमा पाँच शैंयाको आइसोलेशन वार्ड बनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले स्थानीय तहलाई पत्राचार समेत गरेको छ ।

उता कैलालीको त्रिनगर नाकामा दुई सातामा ३७ हजार ६०० भन्दा बढी नागरिक भारतबाट यहाँ भित्रिएका छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्रै आरडिटी विधिबाट कोरोना जाँचका लागि २४ हजार किट सुदूरपश्चिम आइपुगेको छ । ‘अहिले हामीले पिसिआर विधिबाट ८०० जनाको मात्रै कोरोना जाँच गर्न सक्छौँ ।’

निर्देशक अवस्थीले भने, ‘प्रयोगशालाका लागि दक्ष जनशक्ति पनि हामीसँग नभएको अवस्था हो ।’ उनले पिसिआर जाँचका लागि स्वाब सङ्कलन गर्न चाहिने ‘भिटिए’ यहाँका नौवटा जिल्लामा १९२ का दरले वितरण गरिएको बताए ।

सुदूरपश्चिममा हालसम्म पाँच हजार ५३६ जनाको मात्रै पिसिआर विधिबाट कोरोना जाँच गरिएको छ । यसमध्ये २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । पाँच जना निको भएर घर फर्किसकेका छन् भने ५४५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस प्रदेशभरमा २१ हजार ८२० जनाको आरडिटी गरिएको छ । आरडिटी पोजेटिभ देखिएका १०० जनाको यहाँका प्रादेशिक तथा जिल्ला अस्पतालमा रहेका आइसोलेशन वार्डमा उपचार भइरहेको छ । उनीहरुको १४ दिन क्वारेन्टिन बसेपछि फेरि परीक्षण गर्नुपर्ने हुन्छ ।

यहाँ भारतबाट आउनेको संख्यासँगै सङ्क्रमितको संख्या पनि बढ्दै छ । चार हजार आरडिटी यहाँ आयो । पिसिआर किट पनि दुई हजार १५० किट आयो । यो कम भएकाले थप आउने भनेको बताइएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भारतबाट फर्किएकाको व्यवस्थापनको जिम्मा स्थानीय प्रशासनको भएको बताए । भारतबाट फर्किएकामध्ये सयौँको संख्यामा नागरिक क्वारेन्टिनमा नगएर घर गएको देखिन्छ ।

‘सीमानामा सामान्य तापक्रमका भरमा नागरिकलाई भित्र्याउँदा कोरोनाको जोखिम यहाँ धेरै बढेको देखिएको छ’, गड्डाचौकीका धीरेन्द्र चन्दले भने, ‘भारतमा सङ्क्रमण कम फैलिएका बेला नै नेपालीलाई आउन दिएको भए सम्वतः कोरोना आउने थिएन ।’ उनले सुदूरपश्चिममा देखिएका कोरोना सङ्क्रमित अधिकांश भारतबाट आएको देखिएको बताए ।

सुदूरपश्चिमका नौवटै जिल्लाका विभिन्न स्थानमा एक हजार ११९ स्थानमा स्थानीय तहले क्वारेन्टिन बनाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा महिला तथा पुरुष गरी दुई हजार ९२० जना क्वारेन्टिनमा बसेका छन् । त्यसैगरी बैतडीमा चार हजार ५२६, बझाङमा एक हजार ८७२, बजुरामा एक हजार ९३९ जना, डडेल्धुरामा तीन हजार ४४७ जना क्वारेन्टिनमा रहेका छन् ।

यहाँको दार्चुलामा ८४४, डोटीमा ६ हजार ३२०, कैलालीमा नौ हजार ४३३ र कञ्चनपुरमा पाँच हजार ५९२ जना क्वारेन्टाइनमा बसिरहेका छन् । त्यसैगरी प्रदेश सरकारको लगानीमा कैलालीमा ५० श्ययाको कोरोना अस्पताल तयार भइसकेको छ भने कञ्चनपुरमा सोहीस्तरको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७