कोरोनाबाट ज्यान गुमाउने एक हजार ६६९ पुगे, ६९ हजार संक्रमित

बेइजिङ, ४ फागुन । विश्वव्यापी रुपमा त्रास सिर्जना गरिरहेको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार ६६९ पुगेको छ । त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार पुगेको छ ।
हालसम्म चीनमा एक हजार ६६५ जनाको ज्यान गएको छ भने चीन बाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
शनिबार एकै दिन दुई हजार ६४१ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने १४२ जनाको ज्यान गएको थियो । भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार १२३ जनाले ज्यान गुमाइसकेका छन् । हुबेईमा मात्र ५४ हजारभन्दा धेरै मानिसमा कोरोनाको संक्रमण पाइएको छ ।
चीनका यातायात उपमन्त्री लियु शाओमिङ्गका अनुसार चीनमा मानिसहरुको आवागमनमा ६ गुणा कम गरिएको छ । शनिबार कोरोनाका कारण युरोपमा पनि एक जनाको ज्यान गएको छ । फ्रान्समा एक जना चिनियाँ नागरिकको ज्यान गएको हो ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको महामारी नियन्त्रणमा लागि सबै देश एकजुट हुनुपर्नेमा जोड दिएको छ । डब्लूएचओका महानिर्देशक टेड्रस अधानोम गेबेरियससले महामारी नियन्त्रणका लागि भइरहेका प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।