अन्नपूर्ण चिनी मिलले किसानको खातामा पठायो ५० लाख, बाँकी भुक्तानी पुस २५ भित्र
काठमाडौं, १८ पुस । उखु किसानले उत्पादनको भुक्तानी नपाएको मुद्दाले सडक र सदन तताइरहेका बेला सर्लाहीको अन्नपूर्ण चिनी (सुगर) मिल किसानको समस्या हल गर्न अग्रसर भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेशकुमार अग्रवालले शुक्रबार किसानको वक्यौता भुक्तान गर्न राजी बन्दै लिखित प्रतिबद्धता जनाएका छन् ।
अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिएका छन् । उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले पाँच करोड रुपैयाँ किसानको खातामा पठाउने छ ।
यस्तै माघको पहिलो साताभित्र थप सात करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिएका छन् ।
उनले उद्योगमा स्टक रहेको चिनी बिक्रीका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रह समेत गरेका छन् । किसान प्रतिनिधिले अन्नपूर्ण सुगर मिलको वक्यौता ४० करोड रहेको दावी गरे पनि उद्योगीले भने २५–२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए ।
उद्योग मन्त्रालयले पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी सम्पर्कमा ल्याई दिन गरेको पत्राचारपछि शुक्रबार अग्रवाल मन्त्रालय आएर लिखित प्रतिबद्धता जनाएका हुन् ।